शैक्षिक तथा साहित्यिक व्यक्तित्व सुन्दर खड्काको सिर्जना रहेको कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियो  सार्वजनिक गरिने भएको छ । दोलखाका पुराना,धार्मिक,साँस्कृतिक तथा ऐतिहासिक विषयवस्तु समेटिएका गीतको म्युजिक भोलि अशोज १२ गते सार्वजनिक गरिने भएको हो ।
भिडियोले दोलखाको पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्नुका साथै नयाँ गन्तव्यको प्रचार हुने सर्जक खड्काले बताउनुभयो । सर्जक खड्काकाअनुसार दोलखाका पुराना तर ओझेलमा परेका ठाउँहरु सुन्द्रावती झरना, चौघरा दरबारको महत्व भिडियोमा झल्कने छ । नयाँ गन्तव्यको रुपमा विकास हुदै गरेका पर्यटकीय स्थलहरु श्रीङ्गी ऋषीको गुफा भएको शुरुङ्गे, आन्तरिक पर्यटकलाई आकर्षण गर्ने भोर्ले झरना, शैलुङको थुम्का मिनीग्रेटवाल, गोल्मास्थान शितलबस्ती लगायतका क्षेत्र चर्चामा ल्याउन खोजिएको छ। जनजीविकामा जोडिएका दाइँ गर्ने प्रचलन, सिङ्गटीमा पाइने माछालाई समेत गीतका शब्दमा सजाइएको छ ।

गीतमाप्राकृतिक सौन्दर्यले भरिएका गौरीशङ्कर हिमाल,तामाकोसी नदी, कालिन्चोक, शैलुङ, हनुमन्ते, लगायतलाई वर्णन गरिएको छ । मानवनिर्मित संरचनाका रूपमा रहेको मिनीग्रेटवाल, कालिञ्चोक केबलकार लगायतलाई थप चर्चामा ल्याउन भिडियोले सहयोग पुग्ने विश्वास गरिएको छ । दोलखाको शहरी क्षेत्रका रुपमा विकास हुँदै गरेका स्थानहरु जिरी, मैनापोखरी, साङ्वाबजारलाई गीतले जोड्न खोजेको छ । धार्मिक पर्यटनका रुपमा चर्चित भीमेश्वरलाई समेत गीतले थप प्रकाशमा ल्याउने प्रयास गरिएको छ ।
गीतमा वर्णन गरिएका दोलखाका महत्वपूर्ण स्थानमा पुगेर छायाँङ्कन गरी भिडियो सामग्री तयार गरिएको जानकारी दिनुभएको छ ।
मोडल कलाकार सञ्जीव ठकुरी बबिता गुरुङको अभिनय रहेको म्युजिक भिडियोमा केही नयाँ कलाकार समेतको उपस्थिति रहेको छ । नयाँ पुस्तामाझ लोकप्रिय गायिका अस्मिता अधिकारी र सुरम्य सङ्गीत दिने गायक नरहरि प्रेमीको आवाज तथा दोलखामा रहेर साहित्य सिर्जनामा सक्रिय रहेका सुन्दर खड्काको रचनामा दोलखाका विभिन्न नयाँ तथा पुराना पर्यटकीय स्थलहरु समेटिएको गीतको रेकर्डिङ तथा छायाङ्कनकै क्रममा निकै चर्चा बटुलिसकेको छ ।
वेभ रेकर्डिङ स्टुडियो अनामनगरमा एरेन्जर नरेन्द्र वियोगीको व्यवस्थापनमा रेकर्डर समीर कार्कीद्वारा रेकर्ड गरिएको गीत सहकार्य र समन्वय जिल्ला युवा समितिका अध्यक्ष भरत रोन श्रेष्ठले गर्नुभएको छ । गीतको श्रव्य सामग्री तयार गरी दोलखाका विभिन्न स्थानमा छायाङ्कन गरी श्रव्यदृष्यसहितको गीत सार्वजनिक भोलि गर्ने तयारी रहेको स्रोतले बताएको छ ।