अब आफ्नै देशमा सुरक्षाको अनुभूति कमजोर भएको महसुस भयो : डा. मनिष ओली
काठमाडौं । चिकित्सक तथा समाजसेवी डा. मनिष ओलीले पछिल्ला सामाजिक र राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले सामान्य नागरिकबीच सुरक्षाको अनुभूति घट्दै गएको उल्लेख गर्दै नेपालमा शान्ति, सहिष्णुता र कानुनी शासन बलियो हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
डा. ओलीले लेखेका छन् —
“४६ सालको आन्दोलनमा म सानो थिएँ। त्यसपछि बुझ्ने भएँ। ४८ सालमा एस.एल.सी. दिएँ। त्यस पछिका आन्दोलन, माओवादी युद्ध, फेरि आन्दोलन, भुईचालो, कोभिड — यी सबै भोगेँ तर कहिले डर लागेको थिएन। नेपाल, म र मेरो परिवारको लागि सुरक्षित ठाउँ हो भन्ने थियो। तर त्यस दिन एकाएक, म र मेरो परिवार कति त्रासमा परेछौँ भन्ने महसुस भयो। कसैले हुल बनाएर जे गरे पनि हुने रहेछ। अब साच्चिकै डर लाग्न थाल्यो आफ्नै देशमा।”
उनले थप लेखेका छन् —
“म कुनै राजनीतिक व्यक्ति होइन। तर पछिल्लो अवस्थाले सामान्य नागरिकमा त्रास र अनिश्चितता बढाएको महसुस भइरहेको छ। समाजमा कानुनी शासनभन्दा बढी भीड मानसिकता हावी हुँदै गएको देखिन्छ।”
डा. ओली प्रकृति प्रेमी र देश दर्शनप्रेमी चिकित्सकका रूपमा पनि चिनिन्छन्। चिकित्सकीय जिम्मेवारीसँगै उनी नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र भौगोलिक विविधता बुझ्न देशका विभिन्न स्थानहरूको भ्रमण गर्न रुचि राख्छन्।
उनका यी विचारहरू सामाजिक सञ्जालमा तीव्र रूपमा साझा भइरहेका छन्। धेरैले उनको भनाइलाई आम नागरिकको मनोभावना प्रतिबिम्बित गर्ने आवाजका रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई समाजमा बढ्दो असहिष्णुता र अविश्वासप्रतिको चिन्ता भएको टिप्पणी गरेका छन्।
स्वतन्त्र विश्लेषकहरूका अनुसार, नागरिकको सुरक्षाको अनुभूति बलियो बनाउन राज्य, समाज र नागरिक तीनै पक्षको जिम्मेवारी समान रूपमा महत्त्वपूर्ण हुन्छ।





