रास्वपामा प्रवेशको जनलहर : दोलखाबाट करिब १,५००, सैलुङबाट २५होनहार युवा पार्टी प्रवेश
काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने क्रम दोलखा जिल्लामा तीव्र बन्दै गएको छ। दोलखा–काठमाडौं सम्पर्क विभागको आयोजनामा पेप्सीकोलास्थित स्टार बैंकेटमा आयोजित लक्षित विशेष कार्यक्रम तथा पार्टी प्रवेश समारोहमा दोलखा जिल्लाबाट सयौँको संख्यामा नागरिकहरू रास्वपामा प्रवेश गरेका छन्। कार्यक्रममा रास्वपा प्रेमी दोलखालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डि.पी. अर्याल ले रास्वपा नागरिकको भरोसा, युवाको ऊर्जा र सुशासनको अभियान भएको बताउनुभयो। उहाँले पुराना राजनीतिक अभ्यासबाट जनताले अपेक्षित परिणाम नपाएको उल्लेख गर्दै, दोलखाबाट देखिएको युवाको सक्रिय सहभागितालाई राजनीतिक चेतनाको सकारात्मक संकेतका रूपमा व्याख्या गर्नुभयो।
त्यसैगरी रास्वपा दोलखा उम्मेदवार इन्जिनियर जगदीश खरेल ले दोलखाको दीर्घकालीन विकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो। उहाँले दोलखालाई सुन्दर नगरी सैलुङ र चलचित्र नगरी खरिढुङ का रूपमा विकास गर्ने लक्ष्य अघि सार्दै, “दोलखा जिल्ला विकास र समृद्धिको यात्रामा अब नयाँ चरणमा प्रवेश गर्न आवश्यक छ, विकसित र समृद्ध दोलखा निर्माणको जिम्मेवारी हामीले लिन्छौँ,” भन्नुभयो।
कार्यक्रममा पूर्व सञ्चार मन्त्री जगदीश खरेल को समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उहाँले लामो समयदेखि अलपत्र अवस्थामा रहेको दोलखा खरिढुङ अन्तर्राष्ट्रिय चलचित्र निर्माण स्थल लाई अब मूर्तरूप दिन स्पष्ट योजना र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो। विगतमा योजनाको अभावका कारण परियोजना अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले नयाँ सोच, पारदर्शिता र परिणाममुखी नेतृत्वमार्फत यसलाई कार्यान्वयन गर्न सकिने धारणा राख्नुभयो।
पूर्व सञ्चार मन्त्री खरेलले दोलखालाई पर्यटकीय नगरी जिरी, सैलुङ क्षेत्र, साथै जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको एकीकृत विकास बिना समग्र दोलखा समृद्धि सम्भव नरहेको बताउनुभयो। यस्ता क्षेत्रहरूको पूर्वाधार विकास, प्रचार–प्रसार र लगानीमैत्री वातावरण निर्माणले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउने उहाँको भनाइ थियो।
च्छोरोल्पा डट कम लाई जानकारी दिँदै रास्वपा बागमती प्रदेश समिति सदस्य प्रकाश थपलिया ले हालसम्म दोलखा जिल्लाबाट करिब १,५०० जनाको हाराहारीमा नागरिकहरू रास्वपामा प्रवेश गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार सैलुङ गाउँपालिकाबाट एमाले, कांग्रेस र नेकपा परित्याग गरी २५ जना होनहार युवाहरू रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा देखिएको उत्साह, युवाको व्यापक सहभागिता र जनउपस्थितिले दोलखा जिल्लामा रास्वपाप्रति बढ्दो आकर्षण र राजनीतिक परिवर्तनप्रतिको चाहनालाई स्पष्ट रूपमा देखाएको सहभागीहरूले बताएका छन्।





