सामाजिक सेवा सम्मान–२०८२” बाट शंकर जोशी सम्मानित

काठमाडौं, माघ २६

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को सातौँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिने “च्छोरोल्पा सामाजिक सेवा सम्मान–२०८२” बाट शंकर जोशी सम्मानित हुनुभएको छ। काठमाडौंस्थित तपस होटलमा भव्य रूपमा सम्पन्न कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गीतकार तथा समाजसेवी शोभित उप्रेतीले मन्तव्य व्यक्त गर्दै च्छोरोल्पा मिडियाले पत्रकारिता, साहित्य र सामाजिक सेवाको माध्यमबाट समाजमा सकारात्मक चेतना फैलाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले शंकर जोशीजस्ता व्यक्तित्वहरूको निरन्तर समाजसेवाले नयाँ पुस्तालाई प्रेरणा दिने बताउँदै, यस्ता सम्मान कार्यक्रमहरू समाजका लागि अत्यावश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमका सभापति तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अध्यक्षीय मन्तव्य दिँदै च्छोरोल्पा मिडियाले स्थापना कालदेखि नै योगदानलाई आधार मानेर सम्मान गर्ने परम्परा अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले सम्मान कुनै व्यक्तिगत निकटताको आधारमा नभई, निष्पक्ष छनोट समिति मार्फत छनोट भएका योग्य व्यक्तित्वलाई मात्र प्रदान गरिने बताउनुभयो।

सो अवसरमा साहित्यिक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्दै च्छोरोल्पा मिडियाले साहित्य, पत्रकारिता र सामाजिक अभियानलाई एउटै सूत्रमा बाँध्ने काम गरेको उल्लेख गर्नुभयो। उहाँले शंकर जोशीको सामाजिक सक्रियता निरन्तर र निस्वार्थ रहेको भन्दै यस्ता व्यक्तित्वको कदर हुनु आफैंमा सकारात्मक सन्देश भएको धारणा व्यक्त गर्नुभयो।

यसैगरी कार्यक्रममा पूर्व प्रशासक देवेन्द्र सिटौलाले सम्मानित व्यक्तित्वहरूको नाम औपचारिक रूपमा उद्घोष (घोषणा) गर्दै सम्मान प्रदान गरिएको जानकारी गराउनुभएको थियो।

दोलखा घर भई हाल काठमाडौंमै बसोबास गर्दै आउनु भएका शंकर जोशी लामो समयदेखि सामाजिक सेवामै आफूलाई समर्पित गर्दै आउनु भएका उदाहरणीय सामाजिक अभियन्ता हुनुहुन्छ। समाजसेवालाई उहाँले दैनिकीका रूपमा आत्मसात् गर्दै शिक्षा, मानवीय सहायता र सामुदायिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.ले हरेक वर्ष प्राज्ञिक, साहित्यिक, कवि–लेखक तथा विशिष्ट व्यक्तित्वहरू सम्मिलित सम्मान छनोट समिति गठन गरी, देश र समाजप्रति अतुलनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई विभिन्न विधामार्फत सम्मान गर्दै आएको छ।

सम्मान ग्रहण गर्दै शंकर जोशीले यो सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि समाजसेवामा अझ सक्रिय रहन प्रेरणा दिने सामूहिक सम्मान का रूपमा लिएको प्रतिक्रिया व्यक्त गर्नुभयो।

कार्यक्रममा पत्रकार, कलाकार, साहित्यकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।