दोलखामा परिवर्तनको हुंकार : खरेलको जित सुनिश्चित – प्रकाश थपलिया
निष्पक्ष चुनाव भए दोलखामा खरेलको जित सुनिश्चित : रास्वपा नेता थपलिया
दोलखा । माघ २९ दोलखा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश सदस्य प्रकाश थपलियाले आगामी निर्वाचन निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए दोलखाबाट पार्टीका उम्मेदवार इन्जिनियर जगदीश खरेलको जित सुनिश्चित हुने दाबी गरेका छन्।
च्छोरोल्पा अनलाइनसँग फोनमार्फत कुरा गर्दै उनले दोलखामा पछिल्लो समय रास्वपाप्रति विशेषगरी युवा पुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको बताए। “घर–घरमा घण्टी प्रतीकप्रति सकारात्मक माहोल बनेको छ। जनताको झुकाव परिवर्तनतर्फ देखिन्छ,” उनले भने।
सुशासन र भ्रष्टाचारविरोधी एजेन्डा
थपलियाले रास्वपा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी अभियानलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। उनका अनुसार युवामुखी आन्दोलनहरूले उठाएका जवाफदेहिता, पारदर्शिता र प्रणाली सुधारका मुद्दा आजको राजनीतिक बहसको केन्द्रमा छन्।
“देश परिवर्तनका लागि नयाँ सोच र व्यवहारिक नेतृत्व आवश्यक छ,” उनले भने, “पुराना अभ्यास दोहोर्याएर मात्र विकास सम्भव हुँदैन।”
दोलखाको विकास बहस
दोलखाको विकास सन्दर्भमा उनले सैलुङ, जिरी, कालिन्चोक, हनुमन्ते लगायतका पर्यटकीय क्षेत्रको सम्भावना उपयोग गर्न नसकिएको टिप्पणी गरे। उनका अनुसार पर्यटन, कृषि र स्थानीय उत्पादनको बजारीकरणमा दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयन आवश्यक छ।
अपर तामाकोशी जलविद्युत आयोजना, मुडे–चरिकोट सडक खण्ड तथा अन्तर्राष्ट्रिय चलचित्र नगरी जस्ता परियोजनाबाट स्थानीयले अपेक्षित लाभ नपाएको उनले दाबी गरे। “वर्षौंदेखि सडक पिच गर्ने र खानेपानी पुर्याउने जस्ता आधारभूत विषय नै दोहोरिने एजेन्डा बन्नु बिडम्बना हो,” उनले भने।
निर्वाचन र राजनीतिक विकल्प
थपलियाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै मतदातालाई निर्भीक रूपमा मतदान गर्न आग्रह गरे। उनले पुराना राजनीतिक दलहरू सुधारिन नसके वैकल्पिक शक्तिप्रति जनविश्वास अझ बढ्ने दाबी गर्दै रास्वपाले मुलुकलाई निकास दिन सक्ने विश्वास व्यक्त गरे।
दोलखामा आगामी निर्वाचनलाई लिएर विभिन्न दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार युवा मतदाताको भूमिका यस पटक निर्णायक बन्न सक्ने आकलन गरिएको छ।
(समाचारदाता)
बनदना आचार्य





