आफ्नो सुविधामा आएको सरकारी गाडी बिरामी बोक्न सेवामा लगाए उपप्रमुख रमेश बुढाथोकी
भक्तपुर — चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी जनप्रतिनिधि बन्नुअघि नै समाजसेवामा सक्रिय, सहयोगी र संवेदनशील व्यक्तित्वका रूपमा परिचित रहँदै आउनुभएको छ। पेसाले व्यवसायी भए तापनि उहाँले समाजका सुख–दुःखमा निरन्तर साथ दिँदै आउनुभएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएपछि उहाँको सेवामुखी सोच सार्वजनिक जीवनमा अझ स्पष्ट रूपमा देखिन थालेको छ। निर्वाचित भई सपथ लिएकै दिन उपप्रमुख बुढाथोकीले नागरिकमाझ स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो—सरकारी गाडी बिरामी बोक्न प्रयोग गर्ने, तलब–भत्ता सामाजिक सेवामा खर्च गर्ने र व्यक्तिगत सेवा–सुविधा न्यूनतम रूपमा मात्र लिने। उक्त प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुँदै आएको देखिन्छ।
नगरपालिकाको कार्यकक्षमा विभिन्न वडाबाट आएका नागरिकहरू आफ्ना समस्या लिएर आउने क्रम नियमित देखिन्छ। उपप्रमुख बुढाथोकीले नागरिकका गुनासो ध्यानपूर्वक सुन्ने र समाधानका उपाय खोज्ने शैली अपनाउँदै आउनुभएको छ। “नागरिकको समस्या समाधान गर्नु जनप्रतिनिधिको दायित्व हो” भन्ने दृष्टिकोण उहाँको कार्यशैलीमा स्पष्ट देखिन्छ।
फुटपाथ व्यवस्थापनसम्बन्धी विषयमा उहाँले मानवीय र व्यवहारिक धारणा प्रस्तुत गर्नुभएको छ। “गरिखानेको रोजीरोटी खोसिनु हुँदैन, तर शहर सुरक्षित र व्यवस्थित हुनुपर्छ,” भन्ने उहाँको भनाइअनुसार नगरप्रहरीलाई संवादमार्फत समाधान खोज्न, कसैको सामान नफाल्न र त्रास होइन सहकार्यमा आधारित व्यवस्थापन गर्न निर्देशन दिइएको छ। यसले विकास र मानवताको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
शिक्षा र बालअधिकारप्रति उपप्रमुख बुढाथोकीको प्रतिबद्धता पनि उल्लेखनीय छ। उहाँले आफ्नै व्यक्तिगत आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिका वडा नं. ६, नगरकोटस्थित तौथली आधारभूत विद्यालयमा अध्ययनरत ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ। यसअघि वडा नं. ६ कै गडगडे आधारभूत विद्यालय तथा वडा नं. २ स्थित आजाद माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि ट्र्याकसुटलगायत आवश्यक सामग्री सहयोग गरिएको थियो। (उक्त सहयोग पूर्ण रूपमा व्यक्तिगत स्रोतबाट गरिएको हो।)
जनप्रतिनिधि बन्नुअघि पनि उहाँ समाजसेवामा सक्रिय रहँदै आउनुभएको थियो। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नं. ८ स्थित श्री शारदा माध्यमिक विद्यालय परिसरमा सरस्वती माता मन्दिर निर्माणका लागि गरिएको आर्थिक सहयोग उहाँको सामाजिक उत्तरदायित्वको अर्को उदाहरण हो।
“पद, सुविधा र पहुँच समाजका कमजोर वर्गका हितमा प्रयोग हुनुपर्छ” भन्ने सोच र व्यवहारले उपप्रमुख रमेश बुढाथोकीले स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवामुखी राजनीतिप्रति नागरिकको भरोसा बढाउँदै लैजानुभएको छ। उहाँ आज चाँगुनारायण नगरपालिकाका उपप्रमुख मात्र नभई, इमानदार, संवेदनशील र सेवामुखी जनप्रतिनिधिको नमुना रूपमा स्थापित हुँदै जानु भएको देखिन्छ।





